काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् ।
पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आह्वान गरेकी हुन् ।
उनले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरिन् ।
कार्कीले भनिन्, ‘अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस्।’
निर्वाचनका लागि सबै राजनीतिक दलहरु तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने धारणा उनको थियो ।
ुनिर्वाचन त हुन्छ नै। अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै लय समाउनेछ,ु उनले भनिन्।
मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा पूर्वसांसदहरु रामेश्वर राय, विश्वेश्वरा दाहाल, रमा गुरागाईँ, गोविन्दबहादुर शाह, हिक्मतबहादुर शाही, शंकरनाथ शर्मा, शिवराज जोशी, नरबहादुर हमाल, अक्कलबहादुर विष्ट, विष्णुबहादुर राउत लगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्